कमल गाउँपालिकामा टोल विकास समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

 १९ असोज ०८३ ।

झापा जिल्लाको कमल गाउँपालिका वडा नं २ मा टोल विकास समितिको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा टोल विकास समितिको क्षमता अभिवृद्धि तथा न्यायिक अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो ।

उपाध्यक्ष न्यौपानेले टोल विकास संस्थाले योजना छनोट र तर्जुमा गरी कार्यान्वयन समेत गरेमा विकास निर्माणमा सुशासन र पारदर्शिता कायम हुने बताउनुभयो । टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धिको तालिम दिएपछि टोल विकास संस्था मार्फत् विकास निर्माणको काम हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

उहाँले न्याय प्राप्तिलाई सहज, सरल, छिटोछरितो एवं कम खर्चिलो बनाउन पालिकामा न्यायिक समिति रहेको हुनाले टोलमा नमिलेका सानातिना विवाद न्यायिक समितिमा दर्ता गर्न सकिने बताउनुभयो ।

तालिम कार्यक्रमको सहजीकरण नेपाल बार एसोसिएसन झापाकी सहसचिव अधिवक्ता सानु कार्की बस्नेत एवं झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो ।

तालिममा कमल गाउँपालिका वडा नम्बर २ का टोल बिकास समिति, मेलमिलापकर्ता लगायत ५० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो । उनीहरुलाई टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार, बस्ती स्तरका योजना छनोट, योजना तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया एवं न्यायिक समितिका अधिकार लगायतका विषयमा प्रशिक्षण दिइएको उजुरी प्रशासक एलिसा श्रेष्ठले जानकारी दिनुभयो ।

श्रोतः शिखरबास खवर

प्रतिकृया दिनुहोस