राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको सदस्यता निलम्बन
काठमाडौं, १३ कात्तिक ०८३ ।
नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) को सदस्यता तथा संगठनसम्बन्धी गतिविधि निलम्बन गरेको छ।
गृह मन्त्रालयले २०८३ कात्तिक १२ गते जारी गरेको सार्वजनिक सूचनाअनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दर्ता तथा सञ्चालनमा रहेको एन–प्याब्सनले मन्त्रालयबाट यसअघि जारी गरिएका निर्देशनहरू पालना नगरेको र संगठनका पदाधिकारीहरूले स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएपछि यस्तो निर्णय गरिएको हो।
मन्त्रालयका अनुसार यस विषयमा सम्बन्धित सरोकारवालासँग २०८३ असोज २३ गते छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनबमोजिम कार्य गर्न आग्रह गरिएको थियो। तर, सोबमोजिम कार्य भएको नदेखिएपछि ऐनको दफा ५ अनुसारको निर्देशन पालना नगरेको भन्दै दफा ६ को उपदफा (२) बमोजिम अर्को निर्णय नभएसम्मका लागि संगठन निलम्बन गरिएको सूचनामा उल्लेख छ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा निलम्बनसम्बन्धी निर्णयपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
यस निर्णयसँगै निजी तथा आवासीय विद्यालयसँग सम्बन्धित राष्ट्रियस्तरको संगठन एन–प्याब्सनको आगामी गतिविधि र सांगठनिक अवस्थाबारे चासो बढेको छ।
स्रोतः गृह मन्त्रालयको सार्वजनिक सूचना।












प्रतिकृया दिनुहोस