सिलाइ व्यवसायबाट सफल बनेकी मालती, चार जनालाई रोजगारी दिँदै ।
सुन्दरहरैँचा, ९ कात्तिक ०८३ ।
परिश्रम, लगनशीलता र समयअनुसार आफूलाई परिवर्तन गर्न सके स्वदेशमै बसेर पनि सफल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ९ की मालती सिवा ।
बि.सं. २०६३ सालमा दुईवटा सिलाइ मेसिनबाट व्यवसाय सुरु गरेकी सिवाले अहिले १० वटा मेसिन सञ्चालन गर्दै चार जनालाई रोजगारी दिन सफल भएकी छन्। उनले सञ्चालन गर्दै आएको प्रज्वल ट्रेडर्सले समयसँगै आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेको छ।
सुरुवाती दिनमा सामान्य डिजाइनका कपडा सिलाउँदै आएकी सिवाले अहिले ग्राहकको चाहना र बजारको मागअनुसार विभिन्न डिजाइनका कपडा तयार गर्दै आएकी छन्। समय परिवर्तनसँगै फेसन र पहिरनको शैलीमा पनि परिवर्तन आउने भएकाले उनले आफ्नो सिलाइ व्यवसायमा नयाँ डिजाइनलाई प्राथमिकता दिँदै आएकी छन्।
पछिल्लो समय बजारमा तयारी पोसाक (रेडिमेड कपडा) को बिक्री बढ्दै जाँदा सिलाइ व्यवसायमा केही प्रभाव परेको उनको अनुभव छ। यद्यपि, ग्राहकको रुचि र मागअनुसारका कपडा तयार गर्ने भएकाले उनको व्यवसाय राम्रोसँग सञ्चालन भइरहेको छ।
दुईवटा मेसिनबाट सुरु गरेको व्यवसायलाई विस्तार गर्दै चार जनालाई रोजगारी दिन सफल उनी निरन्तरको मेहनत र आत्मनिर्भरताको उदाहरण बनेकी छन् । मेहनत, सीप र समयअनुसार व्यवसायमा परिवर्तन गर्न सके आफ्नै ठाउँमा बसेर पनि आर्थिक रूपमा सबल बन्न सकिने रहेछ भन्ने उनको सफलताले सन्देश दिएको छ।







प्रतिकृया दिनुहोस