गुराँसको राजधानी टिएमजे, ढकमक्क फूलहरुले बेहुलीझैँ सिँगारिएको डाँडापाखा, पर्यटकहरुको घुँइचो (फोटोफिचर सहित)

विपुल सुवेदी / संखुवासभा
‘लालीगुराँसै गुराँस’ को राजधानी भनेर परिचित तिनजुरे, मिल्के र जलजले क्षेत्र अन्तर्गत सङ्खुवासभाको जलजले, तेह्रथुमको तीनजुरे र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रुपमा समेत चिनिन्छ । 


संखुवासभाको चैनपुर नगरपालिका अन्तर्गत गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिका भित्र पर्ने चौकीमंगलबारे, मदामसिंह क्षेत्र र धर्मदेवी नगरपालिकाको टुटेदेउराली र पाथीभरा मन्दिर परिसरमा दैनिक रुपमा पर्यटकहरु भरिभराउ हुन थालेका छन् । 


टिएमजे क्षेत्रभित्र गुराँस बाहेक अन्य विभिन्न प्रजातिका वनस्पति समेत पाइन्छ । यतिबेला ढकमक्क लालीगुराँस फुलेर मनमोहक बनेको छ टिएमजे । वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेपछि यो क्षेत्र यतिखेर पर्यटकहरु घुम्ने र मनोरञ्जन गर्ने केन्द्र बनेको छ । यहाँको डाँडापाखामा फुलेका ढकमक्क फुलहरूले जोकोहीको पनि ध्यान खिच्ने गर्दछ । सायद टिएमजे पुग्ने जोकोहिलाई पनि फर्किएर आउन मनै लाग्दैन । गुराँस फुलेको मौषममा मात्र हैन पौष र माघमा परेको हिउँले समेत यो क्षेत्र उत्तिकै मनमोहक हुन्छ ।


गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । समुद्री सतहदेखि करिब १ हजार ७०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात साविकका २५ वटा गाविसमा फैलिएको छ । पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ८० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्याङ्क छ ।


नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको हो । यो क्षेत्रमा बिषेशगरी फागुन महिनाबाट कोपिला सुरू भई जेष्ठ अन्तिमसम्म गुराँस फुल्ने गर्दछ ।


टिएमजे क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै आजभोली आन्तरिक तथा बाह्य पर्यटकहरुको चहल पहल बढेको छ । देउराली, आर.आर गार्डेन, मंगलबारे र गुफापोखरी वरिपरिका जङ्गल यतिखेर बेहुली झै सिंगारिएका छन् ।

टिएमजे क्षेत्र सङ्खुवासभा, ताप्लेजुंङ र तेह्रथुम जिल्लाको संगमस्थल भएको हुनाले नै यो टिएमजे नामले परिचित भएको हो । टिएमजेबाट देखिने मकालु हिमाल, कञ्चनजङ्गा, कुम्भकर्ण हिमालको मनमोहक दृश्यले जोकोहिको मन लोभ्याउँदछ । त्यति मात्र कहाँ होर, ढकमक्क फुलेको लालीगुराँस, मनोमोहक प्राकृतिक दृष्य, चिरबिरचिरबिर चराका आवाज, बनमा देखिने कालिज, घोरल, हरिण, भेडा, चौरी गाई जस्ता जिवजन्तुले यस क्षेत्रको शोभा उतिकै बढाएको छ ।


शितल हावापानी भएकाले स्वच्छ हावापानीको मज्जासंगै गुराँसको लोभलाग्दो दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो लाग्ने गरेको स्थानीयहरू बताउँछन् । गएका वर्ष कोरोना भाइरसका कारण पर्यटकहरु न्यून भए पनि यस वर्ष पर्यटकहरुको आवागमन ह्वात्तै बढेको छ । आन्तरिक तथा बाहय पर्यटकको चहल पहल बढेसँगै होटल व्यवसाय समेत राम्ररी फस्टाएको छ । व्यवसायीहरुले थप होटल, रेष्टुरेन्ट खोल्ने क्रम समेत उत्तिकै छ । पर्यटकको चहलपहलसंगै यस क्षेत्रको आर्थिक गतिविधि समेत बृद्धि भएको छ , तर घुम्न आउने पर्यटकहरुलाई होटल तथा लजमा बस्दा, भने जस्तो सेवासुविधा र केही मात्रामा महंगो भएको प्रतिक्रिया दिए ।


स्थानीय सरकार आइसकेपछि विकासको कामले समेत तिव्रता पाइरहेको छ । पहिला पैदल आउनुपर्ने यस क्षेत्रमा अहिले बाटोघाटो बनिसकेको छ । त्यस्तै यस क्षेत्रमा पाथिभरा देवीको मन्दिर तथा साना तथा ठूला पोखरी समेत रहेका छन् । प्रत्येक वर्ष नयाँ वर्षमा यहाँ भगवानको दर्शन गर्नेहरुको घुँइचो लाग्ने गर्दछ । 


पर्यटकको अत्याधिक चापलाई मध्यनजर गर्दै यस क्षेत्रको वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनलाई समितिले उतिकै ध्यान दिन जरुरी देखिन्छ किनकी भविष्य सम्म यस क्षेत्रको विकास साथसाथै पर्यटकीय क्षत्रलाई थप विकास गर्दै लैजान वनजङगल संरक्षण, फोहोरमैला व्यवस्थापनमा सक्रियताका साथ लाग्न सके मात्र यसको थप विकास हुँदै जाने देखिन्छ । यसका लागि स्थानीय सरकार, सरोकारवाला निकाय, संरक्षण समितिको थप ध्यान जान आवश्यक छ ।

थप तस्बिर हेर्न यस लिङ्कलाई खोल्नुहोसर ।

https://www.facebook.com/profile.php?id=100062503531522&__cft__[0]=AZVuOkXZpQpO6MdfKRopvaufpps5IvingM_iRQMgfcSjqKpdPNkJSlPfMqAys3JEHj3X7S2qiowOtsYxBd-kYJ-6V0nei3Nj1jjWCqcvqLpT5ETIK0T1ZSXvZg7cqwh2biE&__tn__=%3C%3C%2CP-R


 

प्रतिकृया दिनुहोस