सुन्दरहरैँचाका विद्यार्थी समीर भुसालले बनाए तीनपाङ्ग्रे गाडी  

सुन्दरहरैंचा, २७ भाद्र ०८३ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ३ मा रहेको जुपिटर इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी समीर भुसालले तीनपाङ्ग्रे गाडी निर्माण गरेका छन्। सानैदेखि मेकानिकल काममा रुचि राख्दै आएका समीरले युट्युबमा विभिन्न भिडियो हेरेर सिकेको सीप प्रयोग गर्दै करिब एक लाख रुपैयाँको लागतमा ‘बग्गी’ नामको तीनपाङ्ग्रे गाडी निर्माण गरेका हुन्।

 

तीन जनासम्म बस्न मिल्ने उक्त गाडीका लागि आवश्यक फलामका पाइप आफैँ काटेर वेल्डिङ गर्दै उनले गाडीको संरचना तयार पारेका हुन्। गाडीको पूर्ण तयारी भने अझै भइनसकेको समीरले बताए ।

 

विद्यालयले रोबोटिक्समा रुचि राख्ने विद्यार्थीलाई प्रोत्साहन गर्दै रोबोटिक्स शिक्षकमार्फत आवश्यक ज्ञान र सीप सिकाउने गरेको विद्यालयका प्रिन्सिपल हरिश्चन्द्र ढकालले बताए ।  समीर विद्यालयको रोबोटिक्स समूहका लिडर समेत हुन्।

बाल दिवसको पूर्वसन्ध्यामा विद्यालयमा आयोजित कार्यक्रममा समीरले आफ्नै हातले निर्माण गरेको ‘बग्गी’ मा विद्यालयका प्रिन्सिपल ढकाललाई राखेर चलाएका थिए।

 

समीरको सिर्जनात्मक क्षमता र प्राविधिक रुचिले बालबालिकाभित्र लुकेका प्रतिभालाई पहिचान गरी अवसर र प्रोत्साहन दिनुपर्ने आवश्यकता देखाएको छ। बालबालिकाको रुचि र क्षमता पहिचान गरी अभिभावक तथा विद्यालयले त्यसअनुसार हौसला, प्रेरणा र अवसर प्रदान गर्न सके उनीहरूले भविष्यमा आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिन सक्ने समीरको प्रयासले देखाएको छ। 

तस्बिरः पूर्वीअनलाइन
 

प्रतिकृया दिनुहोस