फोटो स्टुडियो हुँदै, सफल महिला उद्यमीको यात्रामा पद्मा भट्टराई
सुन्दरहरैँचा, ३० भाद्र ०८३ ।
निरन्तर मेहनत, लगनशीलता र समयअनुसार व्यवसायमा परिवर्तन गर्दै सुन्दरहरैँचा–१२ की पद्मा भट्टराई सफल महिला उद्यमीका रूपमा स्थापित हुनुभएको छ।
वि.सं. २०५२ सालदेखि ‘स्वागत फोटो स्टुडियो’ नामबाट व्यवसाय सुरु गर्नुभएकी भट्टराईले सुरुवातमा करिब १० हजार रुपैयाँ लगानी गरी दुईवटा क्यामेराबाट व्यवसाय थाल्नुभएको थियो। त्यतिबेला एउटा फोटो खिचेको २० रुपैयाँ लिने गरेको उहाँको अनुभव छ।
समयसँगै प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै उहाँले वि.सं. २०५६ सालदेखि भिडियो क्यामेराको सेवा सुरु गर्नुभयो भने २०६० सालदेखि डिजिटल क्यामेरामार्फत सेवा दिन थाल्नुभयो। त्यसपछि २०६२ सालदेखि कम्प्युटरबाट फोटो बनाउने काम सुरु गर्दै व्यवसायलाई थप आधुनिक बनाउनुभयो।
व्यवसाय विस्तार गर्ने क्रममा वि.सं. २०६६ सालदेखि ‘स्वागत कम्प्युटर’ को नामबाट कम्प्युटर तथा कम्प्युटरका सामग्रीको व्यवसायसमेत सुरु गर्नुभयो। करिब २० लाख रुपैयाँ लगानी गरेर अघि बढाइएको व्यवसायले कोरोना महामारीका कारण केही कठिनाइ व्यहोर्नुपरे पनि उहाँले हार नमानिकन व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ।
हाल उहाँको व्यवसायबाट फोटो खिच्ने तथा बनाउने, कम्प्युटर टाइपिङ, अनलाइन सेवा, फोटो फ्रेम, फोटोकपी, प्रिन्टलगायतका सेवा उपलब्ध हुनुका साथै भाडाकुडाका सामग्री पनि बिक्रि गर्दै आउनुभएको छ । समयअनुसार प्रविधि र सेवामा परिवर्तन गर्दै निरन्तर अघि बढीरहेकी भट्टराईको उद्यमशीलता स्थानीय महिलाका लागि प्रेरणाको स्रोत बनेको छ।










प्रतिकृया दिनुहोस