ट्राफिक प्रहरीद्वारा सुरक्षित चालक ज्याकेट वितरण कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा,२० श्रावण ०८३ ।

ट्राफिक प्रहरी पोष्ट विराटचोकले सुरक्षित सडक यात्रा प्रवर्द्धन गर्ने उद्देश्यले आज सुरक्षित चालक रिफ्लेक्टिभ ज्याकेट वितरण कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरेको छ। 

 

“ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सार्वजनिक सवारी चालकहरूलाई रिफ्लेक्टिभ ज्याकेट वितरण गरिएको हो। रातिको समयमा चालकको स्पष्ट पहिचान भई सडक दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वासका साथ उक्त कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

 

कार्यक्रमको सभापतित्व सिटी सफारी चालक परिवारका अध्यक्ष लिलामणि बाह्रकोटीको रहेको थियो। त्यसै गरी प्रमुख अतिथिमा  सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, विशेष अतिथिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक सन्तोष न्यौपाने, इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख राजीब गिरी रहनुभएको थियो । 

 

कार्यक्रममा वक्ताहरूले ट्राफिक नियमको पालना, अनुशासित सवारी सञ्चालन र चालकहरूको जिम्मेवारीपूर्ण भूमिकाले मात्र सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।

 

कार्यक्रम ट्राफिक प्रहरी पोष्ट विराटचोकको आयोजनामा तथा सिटी सफारी चालक परिवार, विराटचोकको सहकार्यमा सम्पन्न भएको थियो। आयोजकका अनुसार यस कार्यक्रमले चालकहरूमा सुरक्षा सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित यातायातमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सुन्दरहरैंचा नगरपालिकामा हाल १६५ वटा सिटी सफारी दर्ता भई सञ्चालनमा रहेका छन् ।
 

प्रतिकृया दिनुहोस