ग्यास बिक्री अनुगमनको क्रममा उद्योग तथा डिलरलाई जरिवाना

 

विराटनगरः 
एलपी ग्यासको वितरण प्रणालीमा अनियमितता र उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन गरी कारबाही गर्न थालेको छ ।उपभोक्ताको गुनासोपछि प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि ग्यास व्यवसायी तथा उद्योगमाथि कारबाही गरेको छ ।

 

गत शनिबार बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रा.लि.मा गरिएको अनुगमनका क्रममा अत्यावश्यक सेवाअन्तर्गत रहेको ग्यास उद्योग सञ्चालनमा नरहेको पाइएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा उद्योग परिसरमा रहेका रिफिल गरिएका १४३ वटा सिलिण्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो । 

 

परीक्षण गर्दा एउटा सिलिण्डरमा १३.७४५ किलोग्राम ग्यास रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तोकिएको तौलभन्दा कम ग्यास रहेको पाइएपछि उद्योगलाई तत्काल २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको थियो । बाँकी ६३ वटा सिलिण्डरको समेत तौल परीक्षण गर्दा औसत तौल १४.१८५ किलोग्राम मात्र रहेको पाइएको प्रशासनले जनाएको छ । सिलिण्डरमा १४.२ केजी तौलको ग्यास हुनुपर्छ ।

 

ती सिलिण्डरको विषयमा समेत प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । यसैगरी, उद्योगमा रहेका खाली सिलिण्डरको तौल परीक्षण गर्दा केही सिलिण्डर तोकिएको तौलभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौलका भेटिएका छन् । खाली सिलिण्डरको तौलसमेत परीक्षण गर्दा कैफियत देखिएपछि उद्योगबाट उत्पादन तथा वितरण भएका अधिकांश सिलिण्डरमा कम तौलको ग्यास राखेर बिक्री वितरण भएको हुन सक्ने भन्दै प्रशासनले थप कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

 

अनुगमनका क्रममा नियामक निकायले कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानूनअनुसार कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोईरालाले जानकारी दिनुभयो ।

 

त्यसैगरी साउन १७ गते गरिएको बजार अनुगमनका क्रममा विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सले जाँचबुझ तथा निरीक्षण कार्यमा सहयोग नगरेको पाइएपछि ११ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

श्रोतः शिखरबास खबर

प्रतिकृया दिनुहोस