समृद्ध केराबारी निर्माणमा युवाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न
केराबारीः
मोरङको केराबारी गाउँपालिकामा ‘समृद्ध केराबारी निर्माणमा युवाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ (हर्डन) को आयोजनामा भएको कार्यक्रममा मेनोनाइट सेन्ट्रल कमिटी, नेपालले आर्थिक सहयोग गरेको थियो। युवा सशक्तीकरण तथा वातावरणमैत्री उद्यम परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमकी प्रमुख अतिथि केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले गाउँपालिकाले युवालक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले सीप विकास तालिम, उद्योग तथा कृषि विकास र प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
सहभागीहरूले उठाएका जिज्ञासा तथा सुझावलाई पालिकाले सम्बन्धित शाखामार्फत सम्बोधन गर्ने बताउँदै उपाध्यक्ष मगरले युवालाई सशक्त बनाउन गाउँपालिकाले आवश्यक योजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी युवाहरूले केराबारीमा बढ्दो लागूऔषध प्रयोग, चोरीका घटनामा युवाको संलग्नता, कृषि क्षेत्रमा देखिएका समस्या तथा युवाका लागि उद्यमशीलताको विषयमा प्रश्न तथा सुझाव राखेका थिए।
सहभागीहरूले गाईवस्तुमा लाग्ने विभिन्न रोग तथा तरकारीमा देखिने रोग नियन्त्रणका लागि गाउँपालिकाबाटै प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने माग गरेका छन्। बाहिरबाट प्राविधिक बोलाउँदा खर्चिलो हुने भएकाले स्थानीयस्तरमै कृषि तथा पशु प्राविधिकको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ थियो।
त्यस्तै, युवालाई उद्योग तथा उद्यम स्थापना गर्न गाउँपालिकाले सहुलियतपूर्ण ऋण, अनुदान तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै युवालाई उत्पादन तथा उद्यमसँग जोड्न सके केराबारीको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो।
सहभागीहरूले उठाएका कृषि तथा पशुपन्छीसम्बन्धी प्रश्नको जवाफ गाउँपालिकाको कृषि शाखा प्रमुख र पशुपन्छी विकास शाखाका प्रतिनिधिले दिनुभएको थियो। लागूऔषध प्रयोग, चोरी तथा युवासँग सम्बन्धित सुरक्षा विषयमा प्रहरीले सहभागीका प्रश्नको जवाफ दिएको थियो।
सामाजिक तथा आर्थिक विकासमा युवाको सहभागिता बढाउने, युवालाई सशक्त बनाउने तथा वातावरणमैत्री उद्यममार्फत स्थानीय विकासमा योगदान पुर्याउने विषयमा अन्तरसंवाद गरिएको थियो। युवालाई गाउँपालिकासँग सहकार्य गराउँदै स्थानीय तहको समृद्धिमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।
हर्डनका पूर्वअध्यक्ष टेकबहादुर लिम्बूले उत्तरी मोरङको विकास निर्माणमा संस्थाले विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। तत्कालीन अवस्थामा उत्तरी मोरङको विकासका लागि बजेट ल्याउन कठिन हुने गरेको स्मरण गर्दै उहाँले गाउँ विकास समिति र तत्कालीन जनप्रतिनिधिसँग समन्वय गरेर विकासका अवसर सिर्जना गर्न संस्थाले पहल गरेको बताउनुभयो।
‘मोरङमा पनि पहाडी क्षेत्र छ र त्यहाँ झोलुङ्गे पुललगायतका पूर्वाधार आवश्यक छन्’ भन्ने विषय काठमाडौंसम्म पुर्याउन हर्डनले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।
खदम बहुमुखी क्याम्पसका प्रमुख टेकबहादुर थपलियाले ‘युवाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले आर्थिक, सामाजिक, भौतिक तथा वातावरणीय विकासलाई समेटेर संस्थागत विकासको स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो। युवालक्षित कार्यक्रमलाई थप प्राथमिकता दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
कार्यक्रममा हर्डनका अध्यक्ष गणेशबहादुर मगरले अध्यक्षता गर्नुभएको थियो। उपाध्यक्ष मनमाया मगर प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, गाउँपालिकाका प्रवक्ता नारायण भुजेल, विभिन्न वडाका अध्यक्षहरू, जनप्रतिनिधि, युवा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण तथा संयोजन सुरेश अधिकारीले गर्नुभएको थियो।
श्रोतः पूर्वीअनलाइन







प्रतिकृया दिनुहोस