सुन्दरहरैंचामा लागूऔषध विरुद्धको महाअभियान’ सम्पन्न
सुन्दरहरैंचा, १७ भाद्र ०८३ ।
लागूऔषध विरुद्धको महाअभियान अन्तर्गत आज मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ स्थित इन्द्रपुर जेसीजको सभाहलमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले लागूऔषध दुर्व्यसनका कारण घरपरिवार बिग्रिने, युवाको भविष्य अन्धकारमा पर्ने तथा समाजमा चोरीलगायत आपराधिक घटना घट्ने गरेको बताउनुभएको छ।
युवालाई दुर्व्यसनबाट जोगाउन यस्ता अभियान महत्वपूर्ण रहेको उहाँको भनाइ छ। सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
लागूऔषध विरुद्धको महाअभियान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख गुरागाईंले कम आय भएका परिवारका व्यक्ति कुलतमा फसेमा न्यूनतम सुधारका लागि सुधारगृहमा राख्ने र त्यसको खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयो। यसले एक व्यक्तिको मात्र नभई परिवार र समाजकै सुधारमा सहयोग पुग्ने भएकाले पालिकाले यस्तो कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो।
त्यसैगरि महाअभियान कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालले गाउँ–समाजमा हुने लागूऔषध सेवन तथा अन्य गतिविधिबारे प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो। उहाँले सबै मिलेर लागूऔषध विरुद्धको अभियानलाई प्रभावकारी बनाउन प्रहरीलाई सूचना दिई सहयोग गर्न आग्रह गर्नुभयो। मोरङ प्रहरीले पछिल्लो समय सबै पालिकामा ‘लागूऔषध विरुद्धको महाअभियान’ सञ्चालन गरिरहेको छ।

..jpeg)








प्रतिकृया दिनुहोस