सुन्दरहरैँचा नगर अस्पतालमा थप चार विशेषज्ञ सेवा सञ्चालन शुरु
रेडियो सुसेली/ विराटचोक, २४ भाद्र ०८३ ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाको नगर अस्पतालमा चारवटा विशेषज्ञ सेवा थप गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सम्बन्धित चिकित्सकलाई बिरामीको पुर्जा हस्तान्तरण गर्दै विशेषज्ञ सेवा शुभारम्भ गर्नुभएको हो।
अस्पतालमा वरिष्ठ जनरल फिजिसियन डा. सन्तोषकुमार महतो, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सुरज दाहाल, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मनीषप्रसाद गुप्ता र वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कल्पनाकुमारी यादवको सेवा थप गरिएको हो। यसअघि अस्पताल प्रमुख डा. विशालचन्द्र सुवेदी विशेषज्ञ चिकित्सकको रूपमा रहेकाले अब उहाँ सहित पाँच जना विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन हुने अस्पताल प्रशासन प्रमुख बाबुराम भट्टराईले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले गरिब तथा विपन्न नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ सेवा विस्तार गरिएको बताउनुभयो। मोरङको दोस्रो ठूलो नगरपालिकाका रूपमा नागरिकको जनघनत्वलाई ध्यानमा राख्दै स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तार गरिएको उहाँको भनाइ थियो।
नगरप्रमुख गुरागाईंका अनुसार सुन्दरहरैँचा मात्र नभई बेलबारी, ग्रामथान र बुढीगङ्गालगायतका क्षेत्रबाट समेत नगर अस्पतालमा सेवा लिन नागरिक आउने गरेका छन्। आगामी दिनमा अस्पतालबाट अझ गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
अस्पतालका प्रशासन प्रमुख बाबुराम भट्टराईले नयाँ भवन निर्माण सम्पन्न भए पछि अपरेसन थिएटर सञ्चालनसम्मको योजना रहेको बताउनुभयो। उहाँका अनुसार अस्पतालले २०८० सालपछि आन्तरिक स्रोतबाटै सञ्चालन खर्च धान्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । अस्पतालमा अति विपन्न तथा गरिब नागरिकले बढी सेवा लिने गरेको र बिरामीमैत्री सेवाका कारण नागरिकको विश्वास बढ्दै गएको उहाँले बताउनुभयो।
तत्कालका लागि चारवटा विशेषज्ञ सेवा थप गरिएको र अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्दै आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना रहेको भट्टराईले जानकारी दिनुभयो। कार्यक्रममा नगर उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, वडाध्यक्षहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।








प्रतिकृया दिनुहोस