सुन्दरहरैंचा नगर सभापतिमा होमनाथ पोखरेल विजयी

सुन्दरहरैंचा, ११ असोज ०८३ । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरकार्यसमितिको सभापतिमा होमनाथ पोखरेल विजयी भएका छन् ।
पोखरेलले आफ्ना प्रतिद्वन्द्वी हरि पौडेललाई १०५ मतले पराजित गर्दै नगर सभापतिमा निर्वाचित भएका हुन् । कुल ४९० मत खसेको निर्वाचनमा पोखरेलले २९२ मत प्राप्त गर्दा पौडेलले १८७ मत प्राप्त गरे ।

 

सामान्य परिवारबाट राजनीतिक यात्रा सुरु गरेका पोखरेल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् । विद्यार्थी जीवनमै सरकारका गतिविधिविरुद्ध खरो रूपमा प्रस्तुत हुने तथा प्रभावशाली भाषण गर्ने युवाका रूपमा उनी परिचित थिए ।

कांग्रेसको राजनीतिक इतिहास र संगठनबारे राम्रो जानकारी राख्ने पोखरेल अब सुन्दरहरैंचा कांग्रेसको नगर संगठन हाँक्ने जिम्मेवारीमा पुगेका छन् । विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोखरेलले नगर सभापतिमा निर्वाचित भएपछि सुन्दरहरैंचा कांग्रेसलाई थप बलियो र व्यवस्थित बनाउने बताएका छन् ।

 

पोखरेलले नेविसंघ जनता स्कुल हरैँचा इकाइ सभापतिबाट राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि सुकुना बहुमुखी क्याम्पस इकाइ सदस्य, सहसचिव, स्ववियु सदस्यका उम्मेदवार तथा इकाइ सचिवको जिम्मेवारी सम्हालेका थिए ।

 

त्यसपछि तत्कालीन क्षेत्र नं. ८ को नेविसंघ सभापतिको जिम्मेवारी सम्हालेका पोखरेल नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सचिवसमेत भइसकेका छन् । लामो समयदेखि विद्यार्थी राजनीति तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका पोखरेल नगर सभापतिको जिम्मेवारीमा पुगेका हुन् ।

प्रतिकृया दिनुहोस