सहयोगी मनहरूको दोस्रो बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा, १६ साउन २०८३।

सामाजिक सेवामा सक्रिय संस्था सहयोगी मन ले आफ्नो दोस्रो बृहत् भेला, भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न गरेको छ।

 

‘सुसंस्कृत समाज सभ्य जन, आजको आवश्यकता सहयोगी मन’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रममा वक्ताहरूले समाजमा सहयोग, सद्भाव, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको संस्कृतिलाई प्रवर्द्धन गर्न यस्ता भेला तथा अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। सहभागीहरूबीच आपसी परिचय, अनुभव आदान–प्रदान तथा सामाजिक एकता र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। कार्यक्रमको समापन सामूहिक चियापानसँगै सौहार्दपूर्ण वातावरणमा गरिएको थियो।

 

संस्थाका अध्यक्ष भिमबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समाजसेवी कृष्णप्रसाद प्रसाईंले संस्थाको ब्यानर वाचन गर्दै गर्नुभएको थियो।

 

यस प्रकारका कार्यक्रमले सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै मानवीय सेवाप्रति नागरिकको सहभागिता र सचेतनालाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस