पुष्पदर्शन साकोसको २०औँ वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैंचा, २० भाद्र ०८३ ।
मोरङको सुन्दरहरैँचा–१० मा रहेको पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सहकारीको साधारणसभा वडा नं. ९ मा रहेको इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष डोलेश्वर तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा ज्येष्ठ शेयर सदस्य आनन्दप्रसाद शाहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सचिव ध्रुवप्रसाद दाहालले आर्थिक वर्ष २०८२।०८३ को प्रगति विवरण तथा चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।
१ हजार ५ सय ७२ शेयर सदस्य रहेको संस्थाको शेयर रकम २ करोड १९ लाख ९७ हजार रुपैयाँ पुगेको छ। संस्थामा कुल बचत ९ करोड ४ लाख ५९ हजार ९ सय ९१ रुपैयाँ रहेको छ। त्यस्तै, कोषमा २ करोड १२ लाख ११ हजार १ सय ९७ रुपैयाँ र ऋण लगानी ९ करोड २० लाख ७८ हजार २ सय ५८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
साधारणसभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य तथा विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट मासिक बचतकर्ता १ जना, असल ऋणी २ जना, बाल बचतकर्ता १ जना तथा ज्येष्ठ सदस्यतर्फ २ जना लाई सम्मान गरिएको थियो।
कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीतर्फ सौगात सुवेदी र प्रिया कुमारी गुप्तालाई पनि सम्मान गरिएको थियो। उनीहरूलाई संस्थाका अध्यक्ष डोलेश्वर तिम्सिना र प्रमुख अतिथि शाहले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष तिम्सिनाले सहकारी संस्था शेयर सदस्यहरूको साझा संस्था भएकाले यसका गतिविधिबारे शेयर सदस्यले नियमित जानकारी लिनुपर्ने बताउनुभयो। उहाँले सहकारी र सञ्चालक समितिका गतिविधिबारे शेयर सदस्यले प्रश्न गर्न र आवश्यक जानकारी लिनुपर्नेमा जोड दिनुभयो।
पछिल्लो समय शेयर सदस्यले सहकारीका गतिविधिबारे पर्याप्त चासो नदिने र सबै जिम्मेवारी सञ्चालक समितिलाई मात्र सुम्पिने प्रवृत्ति देखिएको भन्दै उहाँले समय–समयमा कार्यालयमा आएर संस्थाको काम, प्रगति तथा गतिविधिबारे जानकारी लिन आग्रह गर्नुभयो। कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्पा तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
तस्बिरः पूर्वीअनलाइन










प्रतिकृया दिनुहोस