ब्युटी पार्लरबाट सफल उद्यमी अस्मिताको व्यवसायिक यात्रा 

सुन्दरहरैँचा, ३१ भाद्र ०८३। 

सानो ब्युटी पार्लरबाट सुरु भएको अस्मिता खत्रीको व्यवसायिक यात्राले ७ वर्षको अन्तरालमा सफल उद्यमी बनाएकोे छ  । वि.सं. २०७६ सालमा एउटा सानो कोठाबाट व्यवसायिक यात्रा सुरु गरेकी खत्रीले अहिले आर्जु कस्मेटिक एण्ड ब्युटी पार्लरमार्फत सफल महिला उद्यमीका रूपमा स्थापित हुनुभएको छ ।

 

सुरुवाती दिनमा सीमित स्रोतसाधनका बीच सानो ठाउँबाट सुरु भएको व्यवसाय निरन्तरको मेहनत, लगनशीलता र ग्राहकको विश्वासका कारण सफल भएको हो। अहिले उहाँले फ्ल्याट भाडामा लिएर कस्मेटिक तथा ब्युटी पार्लरसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आउनुभएको छ।

 

आरजू कस्मेटिक एण्ड ब्युटी पार्लरमा फेसियल, मेकअप, हेयर कटिङ तथा हेयर स्टाइलिङ, हेयर कलर, थ्रेडिङ, वाक्सिङ, नेलसम्बन्धी सेवा तथा विभिन्न सौन्दर्यसम्बन्धी सेवाहरू उपलब्ध हुँदै आएका छन्।

 

व्यवसायसँगै घरपरिवारको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएकी खत्रीका लागि यो यात्रा सहज भने थिएन। सानी नानीको हेरचाहदेखि घरायसी जिम्मेवारी र व्यवसायलाई एकसाथ अघि बढाउँदै उहाँले आफ्नो उद्यमलाई निरन्तरता दिनुभयो। संघर्ष र चुनौतीका बीच पनि हार नमानी अघि बढेकै कारण आज उहाँ आफ्नो व्यवसायबाट एक जनालाई रोजगारी दिनसमेत सफल हुनुभएको छ।

 

सानो कोठाबाट सुरु गरेको व्यवसायलाई बिस्तार गर्दै रोजगारी सिर्जना गर्न सफल अस्मिता खत्रीको उद्यमशील यात्रा अन्य महिलाका लागि पनि प्रेरणाको स्रोत बनेको छ। आफ्नै सीप, मेहनत र आत्मविश्वासलाई व्यवसायमा रूपान्तरण गर्न सके महिला पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण खत्रीले प्रस्तुत गर्नुभएको छ।

प्रतिकृया दिनुहोस