सुन्दरहरैंचामा रेबिज रोगविरुद्ध साताव्यापी सचेतनामूलक कार्यक्रम

 

सुन्दरहरैंचा, १२ असोज ०८३ । 

मोरङको सुन्दरहरैंचा नगरपालिकामा रेबिज रोगविरुद्ध साताव्यापी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको स्वास्थ्य उपशाखा तथा पशुपन्छी प्रवर्द्धन उपशाखाको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा नागरिकलाई रेबिज रोग, यसको जोखिम तथा बच्ने उपायबारे विभिन्न सचेतनामूलक जानकारी प्रदान गरिएको हो।

 

 कार्यक्रममा रेबिज रोगबाट बच्न अपनाउनुपर्ने सावधानी, घरपालुवा तथा सामुदायिक कुकुरको व्यवस्थापन र कुकुरले टोकेमा तत्काल अपनाउनुपर्ने प्राथमिक उपचारलगायतका विषयमा जानकारी दिइएको थियो।

 

पछिल्लो समय घरपालुवा तथा सामुदायिक कुकुरको संख्या र कुकुरको टोकाइका घटना बढ्दै जाँदा रेबिज रोगको जोखिमसमेत बढेको भन्दै नागरिकमा सचेतना आवश्यक रहेको सुन्दरहरैंचा स्वास्थ्य उपशाखाले जानकारी दिएकोछ । शाखाका अनुसार रेबिजबाट बच्न समयमै सचेत हुनुका साथै कुकुर तथा अन्य जोखिमयुक्त जनावरले टोकेमा तत्काल स्वास्थ्य संस्थामा पुगेर आवश्यक उपचार तथा खोप लगाउनुपर्छ।

 

साताव्यापी सचेतनामूलक कार्यक्रममार्फत नगर क्षेत्रका नागरिकलाई रेबिज रोगको जोखिम न्यूनीकरण, रोकथाम तथा सुरक्षित व्यवहारका विषयमा जानकारी दिइएको आयोजकले जनाएको छ। आयोजकले विभिन्न सञ्चार माध्यमबाट समेत चेतनामुलक सामग्री प्रचारप्रसार गरेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस