उत्पादन, रोजगारीदेखि ज्येष्ठ नागरिक चौतारीसम्म, भोलेश्वर दुलालको सामाजिक यात्राको अर्को अध्याय
सुन्दरहरैंचा, १७ असोज ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण मौलिक सांस्कृतिक तथा धार्मिक महत्व बोकेको ज्येष्ठ नागरिक चौतारी ९फल्चा० निर्माण गरी समुदायलाई हस्तान्तरण गर्नुभएको छ। दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा चौतारी निर्माण गर्नुभएको हो। उपत्यका बाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो। इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति झल्काउने संरचनाको स्वरूप दिएको छ।
संरचनामा मौलिक धार्मिक तथा सांस्कृतिक पक्षसमेत जोडिएको छ। दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको चौतारी इन्द्रपुर लायन्स क्लबले मर्मतसम्भार तथा संरक्षण गर्ने गरी समुदायलाई हस्तान्तरण गरिएको हो। चौतारी निर्माण दुलाल दम्पतीको परिकल्पनामा भएको हो। प्रमिला दुलाल लायन्स क्लबको अध्यक्ष रहनुभएको समयमा यसको निर्माण अघि बढाइएको थियो। समाजसेवामा निरन्तर सक्रिय दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ मूल्य बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको संस्कार र सामाजिक सेवाबाट सबैले सिक्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय कतिपय व्यक्तिमा सामाजिक तथा नैतिक संस्कारको कमी देखिएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नुभयो।
नगरप्रमुख गुरागाईंले दुलालले निर्माण गरेको संरचनाले नेपाली मौलिकपनलाई जीवन्त राख्ने बताउँदै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा चौतारी उपयोगी हुने उल्लेख गर्नुभयो।










प्रतिकृया दिनुहोस