विश्वविद्यालयको ४३औँ सभा बैठक सम्पन्न, मेडिकल, नवप्रबर्तन र ए.आई. प्रणाली प्राथमिकतामा
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको ४३औँ सभाबैठक मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरवारमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८३।०८४ को नीति,कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित भएको छ। रजिस्ट्रार प्रा.डा. पन्ना थापाले चालु आ.व.को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट पेश गर्नुभएको थियो । स्वीकृत नीति तथा कार्यक्रमअनुसार मोरङको गोठगाउँस्थित ८०५ बिगाह जग्गामा गुरुयोजना बमोजिम एकीकृत भौतिक संरचनाको विकासमा जोड दिइएको छ।
अध्ययन–अध्यापनलाई प्रविधिमैत्री बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), साइबर सेक्युरिटी तथा चिकित्साशास्त्र र इन्जिनियरिङका विशिष्टीकृत पाठ्यक्रमहरू सञ्चालन गरिने योजना बनाइएको छ । प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत र पारदर्शी बनाउन डिजिटल इकोसिष्टम लागू गरिनेछ ।
गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गरी कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षालाई सुदृढ बनाउने । जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयहरूसँग संयुक्त डिग्री र स्टुडेन्ट एक्सचेञ्ज कार्यक्रम सञ्चालन गर्ने, पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने नीति विश्वविद्यालयले लिएको छ ।









प्रतिकृया दिनुहोस