न्यूक्लियर इन्जिनियरिङमा पीएचडी गर्ने पहिलो नेपाली सङ्खुवासभा धर्मदेवीका विशर पौडेल ।
धर्मदेवी/ संखुवासभाको धर्मदेवी ८ छिपीधाराका विशर पौडेलले युनिभर्सिटी अफ भर्जिनियाबाट न्यूक्लियर ईन्जियरींग विषयमा पीएचडी उपाधि हासिल गरेका छन् । साविकको आँखीभुई गा.वि.स मा वि.सं २०५० सालमा जन्मिएका विशर पौडेल सानैदेखि पढाइमा अब्बल र मेधावी विद्यार्थीको रुपमा परिचित थिए । दुई सन्तानका अभिभावक रहेका पौडेल दम्पती बाबु विष्णुप्रसाद पौडेल र आमा सरस्वती शर्मा पौडेलका पहिलो सन्तान हुन् विशर ।
गाउँकै स्थानीय अमरुवा माध्यमिक विद्यालयबाट आफ्नो बाल्यकालको पढाइ सुरुवात गरेका उनले काठमाडौ मोडेल स्कुलमा कक्षा ७ सम्मको पढाइ पूरा गरे । अभिभावक अमेरिकामा बस्दै आएकोले त्यसपछिको अध्ययन उनले अमेरिकामा नै निरन्तरता दिए । सन् २००७ सालमा अमेरिका प्रवेश गरेका उनले त्यहाँ रहदा किलमोर मिडिल स्कुल, लंगफेलो मिडिल स्कुल हुँदै मक्लिन हाई स्कुलमा अध्ययन गरे । हालैमात्र उनले युनिभर्सिटी अफ भर्जिनियाबाट न्यूक्लियर इन्जिनियरिङ् विषयमा पीएचडी उपाधि हासिल गरेका छन् । अणु विज्ञान सम्बन्धि यो विषयमा पीएचडी गर्ने विशर पहिलो नेपाली हुन् ।
अमेरिकाको आणविक अनुसन्धानशाला रिचल्याण्ड वासिंटनबाट उनले सरकारी सेवा पनि सुरु गर्दैछन् । उच्च शिक्षामा हासिल गरेको उनको सफलतामा भर्जिनियाको नेपाली समुदायले हालै एक समारोहको आयोजना गरी उनलाई बधाई ज्ञापन पनि गरेको छ । समुदायका अग्रजहरुले पछिल्लो पुस्तामा यो तहको उच्च शिक्षा हासिल गर्ने थोरै युवामध्येका एक विशर पौडेलको बौद्धिक र प्राज्ञिक उचाईबाट मातृभूमि र नेपाली समुदायले लाभ लिन सक्नुपर्नेमा जोड दिएका थिए ।









प्रतिकृया दिनुहोस