नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १४औँ साधारणसभामा चार पत्रकार सम्मानित

 

सुनसरी । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १४औँ साधारणसभामा विभिन्न विधाका पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै चार जना पत्रकारलाई सम्मान गरिएको हो।

साधारणसभामा अग्रज पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डेद्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३’ बाट वरिष्ठ पत्रकार शशि कोइराला सम्मानित भएका छन्। त्यसैगरी, महासङ्घले प्रदान गर्ने सम्मानपत्र तथा ‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार विवेक भट्टराई सम्मानित भएका छन्।

 

यस्तै, ‘डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार’ बाट जुझारु पत्रकार रश्मि प्रधान सम्मानित भएकी छन् भने ‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार सुनिल चौधरी सम्मानित भएका छन्।

 

महासङ्घले पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदान, सिर्जनशीलता तथा प्रेस स्वतन्त्रताको पक्षमा खेलेको भूमिकाको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जनाएको छ। कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा आगामी दिनमा अझ सशक्त पत्रकारिताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस